काठमाडौं । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषणको अन्त्य, श्रम ऐनको कार्यान्वयन तथा उचित पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौं” लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले बोकेका प्लेकार्डहरूमा “मेडिकल माफिया मुर्दावाद ।”, “जय महाकाली, आयो गोर्खाली, श्रम शोषण लड्ने हो यसपाली।”, “रातभरि नसुती डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ।” तथा “प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर।” लगायतका सन्देश लेखिएका थिए।
प्रदर्शनकारीहरूको भनाइअनुसार धेरै प्रशिक्षार्थी चिकित्सकले लामो समयसम्म निरन्तर काम गर्नुपर्ने, पर्याप्त पारिश्रमिक नपाउने तथा श्रम ऐनले सुनिश्चित गरेका अधिकारबाट वञ्चित हुनुपरेको अवस्था रहेको छ। उनीहरूले प्रशिक्षार्थी चिकित्सकलाई पनि अन्य श्रमिकसरह श्रम ऐनको पूर्ण कार्यान्वयन, सुरक्षित कार्य वातावरण र उचित सेवा–सुविधा उपलब्ध गराउन माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले स्वास्थ्य क्षेत्रको गुणस्तरीय सेवा सुनिश्चित गर्न चिकित्सकको श्रम, समय र अधिकारको सम्मान हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूको भनाइमा, चिकित्सकको श्रमको उचित मूल्यांकन नगर्दा अन्ततः स्वास्थ्य सेवा प्रणाली नै प्रभावित हुने अवस्था सिर्जना हुने खतरा रहेको छ।









Add Comment