विविध

कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण राहतकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बुधबार राति करिब ११:२० बजे सञ्जीवनी चोकबाट दक्षिण राहततर्फ पैदल जाँदै गरेका करिब ४५ वर्षीय पुरुषलाई टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना भने हालसम्म खुलेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको ढाड, छाती र दुवै खुट्टामा चोट लागेको थियो। प्रारम्भिक उपचारपछि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएकोमा उपचारकै क्रममा बिहीबार बिहान २:०७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि टिप्पर चालक शिवराज नगरपालिका–५ का ३७ वर्षीय सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।