समाचार

माइतीघरमा सद्भाव र्‍याली, सामाजिक एकताको अपिल

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा सद्भाव र्‍याली आयोजना गरेको थियो।

र्‍यालीमा सहभागीहरूले सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले ‘सामाजिक सद्भाव कायम गरौँ’ लगायतका प्लेकार्ड बोकेर समाजमा मेलमिलाप, आपसी विश्वास र भाइचारा कायम राख्न सबै पक्षलाई आग्रह गरेका थिए।

पछिल्ला केही दिनयता देशका केही स्थानमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको र्‍यालीमा सहभागीहरूले कुनै पनि विवादलाई हिंसाको बाटोबाट नभई संवाद र समझदारीमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै, सामाजिक सञ्जालमा फैलिने अफवाह र भ्रामक सूचनाबाट सचेत रहन पनि उनीहरूले आग्रह गरेका थिए।

र्‍यालीमा विद्यार्थी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम राख्न सबै नागरिकले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।