काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्य आरोहीहरूको शव उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले आइतबार शवहरूलाई क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ।
उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा शवहरू क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि मौसम अनुकूल भए सोमबार जापानी क्याम्पसम्म झार्ने योजना बनाइएको छ।
टोलीका अनुसार मौसम र हिमालको अवस्था अनुकूल रहे जापानी क्याम्पबाट हेलिकप्टरमार्फत शव तथा उद्धार टोलीलाई सुरक्षित स्थानमा सारिनेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक स्वदेश ल्याउने तयारी रहेको जनाइएको छ।
गत बिहीबार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोमा निम्सदाइको नेतृत्वमा रहेको टोली परेको थियो। उक्त घटनामा ६ नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए।
निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार गरिएको थियो। अहिले उद्धार टोलीले प्रतिकूल मौसमबीच शव सुरक्षित रूपमा तल झार्ने प्रयास जारी राखेको छ।








Add Comment