विविध

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

दाङ । दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।

भारतको सिद्धार्थनगरबाट घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा ३२ वर्षीय सनि कुमार घाइते भएका छन्। उनीहरू सबै भारतको सिद्धार्थनगरका बासिन्दा हुन्।

घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।