विविध

मनसुनी प्रभाव कायम, आज पनि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक रहेको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, मधेसका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान तथा मधेसका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।