काठमाडौँ । बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। पाँच वर्षदेखि रक्त क्यान्सरसँग जुधिरहेका रावतको सोमबार साँझ मुम्बई नजिकैको भिवण्डीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको उनका प्रबन्धक सिद्धार्थ तिवारीले पुष्टि गरेका छन्।
सन् १९५२ जनवरी २१ मा मध्यप्रदेशको जबलपुरमा जन्मिएका रावतले सन् १९८५ मा मेरी जंगबाट फिल्मी यात्रा सुरु गरेका थिए। सन् १९८८ मा प्रसारित बी.आर. चोप्राको चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अश्वत्थामाको भूमिका निर्वाह गरेपछि उनी व्यापक रूपमा परिचित बनेका थिए।
रावतले हिन्दीसँगै तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी फिल्ममा पनि अभिनय गरेका थिए। उनी विशेषगरी शक्तिशाली खलनायकको भूमिकाका लागि परिचित थिए। निर्देशक एस.एस. राजामौलीको तेलुगु फिल्म स्येमा निभाएको भूमिकाका लागि उनले फिल्मफेयर, नन्दी र सन्तोषम अवार्ड प्राप्त गरेका थिए।
तमिल सुपरहिट फिल्म गजिनी र त्यसको हिन्दी रिमेकमा निभाएको खलनायकको भूमिका उनको करिअरकै सबैभन्दा चर्चित अभिनयमध्ये एक मानिन्छ। साथै उनले लगान, सरफरोश, द हिरो: स्टोरी अफ अ स्पाइ, स्टालिन, वीरम, १: नेनोक्काडिने, वाल्टेयर वीरय्या लगायतका चर्चित फिल्ममा पनि अभिनय गरेका थिए।
लामो समयदेखि रक्त क्यान्सरको उपचार गराइरहेका रावत केही समय निको भए पनि केही महिनाअघि रोग पुनः बल्झिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी मुम्बईका विभिन्न अस्पतालमा उपचाररत थिए।
उनका श्रीमती कल्याणी रावत तथा दुई सन्तान छन्। उनको निधनप्रति भारतीय फिल्म उद्योगका कलाकार, निर्देशक र शुभचिन्तकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।








Add Comment