विविध

कैलालीमा दुई यात्रुवाहक बस ठोक्किँदा सात जना यात्रु घाइते

काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सुदूरपश्चिम प्रदेश ०१–००१ ब ३१६८ नम्बरको बस लम्कीबाट चिसापानीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूमा कैलालीकी ५० वर्षीया लक्ष्मी शाही, ५३ वर्षीया कृष्णादेवी टमटा, ५५ वर्षीया बसुदेवी टमटा, कालिकोटका ४८ वर्षीय प्रवीण बिष्ट, रुकुम पश्चिमकी २१ वर्षीया बिना शाही, एक वर्षीय लभिस चन्द तथा अछामकी २१ वर्षीया निर्मला सञ्ज्याल रहेका छन्।

उनीहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसमा सवार अन्य २७ जना सकुशल रहेका छन्। दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगे पनि सवारीसाधन चल्ने अवस्थामा रहेको र सडकमा यातायात सञ्चालन सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनापछि दुवै चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।