काठमाडौँ । ओमान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (ओसीसीआई) को आयोजनामा मस्कटमा सम्पन्न ओमान–नेपाल व्यवसाय मञ्चमा दुई देशबीच व्यापार, लगानी र निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा व्यापक छलफल भएको छ।
व्यापार तथा लगानी, खाद्य सुरक्षा, पानी तथा पेय पदार्थ, हस्तकला र परम्परागत उद्योगलाई केन्द्रमा राखेर आयोजित मञ्चमा ओमान र नेपालका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य दुई देशका निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क बढाउँदै व्यापारिक साझेदारी र संयुक्त लगानीका अवसरको खोजी गर्नु रहेको आयोजकले जनाएको छ।
ओसीसीआईका बोर्ड अफेयर्स तथा अन्तर्राष्ट्रिय सहकार्य क्षेत्रका महानिर्देशक सालेम बिन सइद अल अलावीले निजी क्षेत्र आर्थिक सम्बन्ध सुदृढ गर्ने प्रमुख साझेदार भएको उल्लेख गर्दै प्रत्यक्ष संवादले नयाँ अवसर पहिचान, अनुभव आदानप्रदान र दीर्घकालीन साझेदारी निर्माणमा टेवा पुग्ने बताए।

नेपालका तर्फबाट ओमानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत (Charge d’Affaires) विशेष कुमार साहले यस्ता मञ्चले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले व्यापार तथा लगानीका नयाँ क्षेत्र पहिचान गर्दै दुवै देशका निजी क्षेत्रबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा ओमानलाई खाडी, एसिया र अफ्रिकाबीचको रणनीतिक व्यापारिक केन्द्रका रूपमा प्रस्तुत गरिएको थियो। साथै अमेरिकासँगको स्वतन्त्र व्यापार सम्झौताले लगानीकर्तालाई थप अवसर उपलब्ध गराएको जानकारी पनि दिइयो।
नेपाली व्यापारिक प्रतिनिधिमण्डलका प्रमुख तथा नेपाल निर्यात उद्यमी महासंघ (एफईईएन) का अध्यक्ष गोविन्दप्रसाद घिमिरेले ओमानसँग दीर्घकालीन व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए। उनले नेपाली हस्तकला, गरगहना, विशेष प्रकारका कफी र चिया, जैविक तरकारी, मसला, अलैंची, अदुवा, जडीबुटीजन्य उत्पादन, प्राकृतिक मह तथा स्वास्थ्यसम्बन्धी उत्पादनहरू ओमानी बजारमा राम्रो सम्भावना बोकेको बताए।
मञ्चको अवसरमा दुवै देशका व्यवसायीबीच बीटुबि (B2B) बैठकसमेत आयोजना गरिएको थियो। बैठकमा व्यापार र लगानीका सम्भावित क्षेत्र, संयुक्त उद्यम तथा नयाँ साझेदारीका विषयमा छलफल भएको आयोजकले जनाएको छ।








Add Comment