विविध

मादक पदार्थ सेवन गरेका चालकको ट्याङ्करले ई–रिक्सा ठोक्दा ९ घाइते

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा नौ जना घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट RJ 14 GE 8710 नम्बरको ग्यास ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिएपछि ट्याङ्कर चालक घटनास्थलबाट फरार भएका थिए।

दुर्घटनामा घाइते भएका नौ जनामध्ये ६ जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सबै घाइतेको वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले फरार ग्यास ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला साहेबगञ्ज निवासी अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन्। स्वास्थ्य परीक्षणका क्रममा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।