विविध

देशभर वर्षाको क्रम जारी, केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले मौसममा यसको प्रभाव परेको हो।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी, खोलानाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।