अन्तराष्ट्रिय

होर्मुज जलडमरूमध्य खुलाउने सहमतिनजिक इरान–ओमान, ट्रम्पले छिट्टै घोषणा हुने संकेत

काठमाडौँ । इरान–ओमानबीच होर्मुज जलडमरूमध्यबाट जहाज सञ्चालनका लागि नयाँ मार्ग र संयुक्त व्यवस्थापनको विषयमा सहमति भएको छ। दुवै देशले व्यवस्थापनसम्बन्धी अन्तिम तयारी गरिरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा “उल्लेखनीय प्रगति” भएको बताउँदै बुधबार वा बिहीबारसम्म औपचारिक घोषणा हुन सक्ने संकेत दिएका छन्।

यसैबीच, बेलायती रोयल नेभीअन्तर्गतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (UKMTO) का अनुसार ओमान नजिक होर्मुज जलडमरूमध्य पार गरिरहेको एक व्यावसायिक तेल ट्याङ्करले दुईवटा विस्फोटको आवाज सुनेको जनाएको छ। यद्यपि जहाज, चालकदल तथा वातावरणमा कुनै क्षति नभएको बताइएको छ।

युद्ध सुरु भएयता इरानले होर्मुज जलडमरूमध्यमा कडा निगरानी कायम राख्दै आएको छ। उता, अमेरिकी सञ्चारमाध्यम CBS News ले स्रोतहरूलाई उद्धृत गर्दै इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्नो लामो दूरीका उच्च–सटीक क्षेप्यास्त्रको अधिकांश मौज्दात प्रयोग गरिसकेको जनाएको छ। तर अमेरिकी रक्षा सचिव पिट हेगसेथले भने यसबारे उठेका चिन्तालाई अस्वीकार गरेका छन्।