काठमाडौँ । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित फ्लाइओभरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएपछि अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा करिब ३० जना यात्रु सवार थिए।
दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार गरी ललितपुरस्थित बी एण्ड बी अस्पताल र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







Add Comment