अन्तराष्ट्रिय

स्पेनले इटालीबाट आउने यात्रुमाथि अस्थायी सीमा जाँच लागू गर्‍यो

काठमाडौँ । स्पेनले इटालीबाट आउने यात्रुका लागि अस्थायी सीमा नियन्त्रण लागू गरेको छ। इटालीले स्पेनसँगको सीमा जाँच हटाउन अस्वीकार गरेपछि स्पेनले यस्तो कदम चालेको हो।

स्पेनको गृह मन्त्रालयका अनुसार शनिबार मध्यरातदेखि लागू हुने सीमा जाँच सेप्टेम्बर ७ सम्म जारी रहनेछ। यस क्रममा यात्रुको राहदानी, राष्ट्रियता तथा भिसालगायतका कागजात जाँच गरिनेछ। स्पेनले इटालीतर्फबाट कायम रहेको ‘अनियमित आप्रवासनको दबाब’लाई सीमा नियन्त्रणको कारण भनेको छ।

यसअघि इटालीले जुलाई ३० देखि स्पेनबाट आउने यात्रुमाथि अस्थायी सीमा जाँच सुरु गरेको थियो। इटालीले स्पेनको उत्तरी अफ्रिकी क्षेत्र सेउटा (Ceuta) मा ठूलो संख्यामा आप्रवासी तथा शरणार्थी प्रवेश गरेको घटनालाई त्यसको कारण देखाएको थियो।

स्पेनले शुक्रबार इटालीलाई सीमा जाँच अन्त्य गर्न दुई दिनको समय दिएको थियो। तर इटालीले स्पेनको ‘अल्टिमेटम’ स्वीकार नगर्ने बताउँदै कम्तीमा अगस्ट १५ सम्म सीमा नियन्त्रण कायम राख्ने अडान दोहोर्‍याएको छ।

यो विवाद स्पेनको सेउटामा भएको ठूलो आप्रवासी आगमनपछि चर्किएको हो। गत साता मोरक्कोबाट पैदल तथा समुद्री मार्ग हुँदै हजारौँ मानिस सेउटा प्रवेश गरेका थिए। अधिकारीहरूका अनुसार उक्त क्रममा कम्तीमा १०० आप्रवासी तथा शरणार्थीको मृत्यु भएको छ।

सेउटामा अझै केही हजार आप्रवासी तथा शरणार्थी रहेका छन्। स्पेनकी युवा मन्त्री सिरा रेगोका अनुसार त्यहाँ रहेका कम्तीमा १,३४२ जना बालबालिका छन्, जसमध्ये सयौँ बालबालिका अभिभावकविहीन छन्। स्थानीय अधिकारीहरूले भने बालबालिकाको व्यवस्थापनका लागि उपलब्ध क्षमताभन्दा निकै बढी मानिस रहेको बताएका छन्।

स्पेन सरकारले अभिभावकविहीन बालबालिकाको सहयोगका लागि २ करोड ५० लाख युरो छुट्याएको छ। तर दक्षिणपन्थी दलहरूले आप्रवासी बालबालिकाका लागि सरकारी रकम खर्च गर्ने निर्णयको विरोध गरेका छन्।

स्पेन र इटालीबीचको यो विवादले युरोपको शेङ्गेन क्षेत्रभित्र स्वतन्त्र आवागमन र आप्रवासन नीतिबारे नयाँ तनाव सिर्जना गरेको छ।