विविध

काठमाडौंका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबल जडान, पोल ठड्याउने, संरचना फिटिङ तथा फिडर मर्मतलगायतका काम गर्नुपर्ने भएकाले शनिबार र आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणको रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विभिन्न फिडरमा काम हुने भएकाले निर्धारित समयका लागि विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।

साउन २३ गते शनिबार भीमसेनस्थान फिडरअन्तर्गत टेकू, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यस्तै, डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म बत्ती जानेछ।

यस्तै, साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गत लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित काम तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार समयभन्दा पहिले नै सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ।