अन्तराष्ट्रिय

क्यानडाको ब्रिटिस कोलम्बियामा भीषण डढेलो, २० हजारभन्दा बढी विस्थापित

ब्रिटिस कोलम्बिया । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा तीव्र गतिमा फैलिएको डढेलोका कारण सरकारले शनिबार आपत्काल घोषणा गरेको छ। बाल्ड रेन्ज डढेलो रातारात करिब दोब्बर फैलिँदै ९ हजार ५०० हेक्टर क्षेत्रमा पुगेपछि हजारौँ मानिसलाई घर छाड्न आदेश दिइएको छ।

डढेलो नियन्त्रणबाहिर रहेपछि समरल्यान्ड, पिचल्यान्डसहित ओकानागन तालको पश्चिमी क्षेत्रमा रहेका विभिन्न स्थानमा अनिवार्य स्थानान्तरण आदेश जारी गरिएको छ। हालसम्म ब्रिटिस कोलम्बियाभर २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

प्रान्तका प्रिमियर डेभिड एबीका अनुसार डढेलोका कारण केही घर तथा संरचना जलेर नष्ट भएका छन्। तीव्र रूपमा बदलिएको परिस्थितिका कारण केही मानिस फसेपछि उद्धारसमेत गर्नुपरेको उनले बताए।

समरल्यान्डका मेयर डग होम्सका अनुसार डढेलोका कारण धेरै फार्म प्रभावित भएका छन् भने कति संरचना नष्ट भए भन्ने यकिन भइसकेको छैन। आगलागीका कारण समरल्यान्डमा विद्युत् सेवा बन्द हुनुका साथै पानीमा समस्या आएपछि पानी उमालेर मात्र प्रयोग गर्न सूचना जारी गरिएको छ।

ब्रिटिस कोलम्बियामा करिब १ हजार ५०० अग्निनियन्त्रक १०० भन्दा बढी डढेलो नियन्त्रणमा खटिएका छन्। यस वर्ष क्यानडामा हालसम्म करिब ४० लाख हेक्टर क्षेत्र डढेलोबाट प्रभावित भइसकेको जनाइएको छ।