काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सिठी फुकेर मात्रै सडकको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न नसकिने बताएका छन्।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काफ्लेले अब प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
उनले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोगसँगै सडक पूर्वाधार सुधार र ट्राफिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण हुन्।
काफ्लेले सडक सुरक्षाका ‘थ्री ई’– इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए। विद्यालय तहदेखि नै ट्राफिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको भनाइ छ।
उनले ट्राफिक प्रहरीको मुख्य उद्देश्य जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पारे। नागरिकसँग कारबाहीका क्रममा नम्र र सम्मानजनक व्यवहार गर्न तथा कारबाही प्रक्रिया पारदर्शी बनाउन पनि उनले निर्देशन दिए।
नेपालमा सडक दुर्घटनाबाट दैनिक औसत ८ जनाको मृत्यु र करिब ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको काफ्लेले बताए। गत वर्षको तुलनामा दुर्घटना करिब २० प्रतिशत घटे पनि यो अवस्था अझै सन्तोषजनक नरहेको उनको भनाइ छ।
उनले आगामी दिनमा प्रविधिको प्रयोग, सडक पूर्वाधार सुधार र जनचेतनामार्फत दुर्घटना अझ घटाउने गरी ट्राफिक प्रहरीले काम गर्नुपर्ने बताए।








Add Comment