विविध

थाइल्यान्डबाट आएको गाँजा विमानस्थलमै रिसिभ, भारतीय नागरिक पक्राउ

काठमाडौँ । थाइल्यान्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततर्फ गाँजा तस्करी गर्न नयाँ शैली अपनाइएको पाइएको छ। थाइल्यान्डबाट ल्याइएको गाँजा विमानस्थलको एप्रोन क्षेत्रमै रिसिभ गर्ने क्रममा एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार २ किलो ३६० ग्राम गाँजा रिसिभ गरेको अवस्थामा भारतको दिल्लीबाट एयर इन्डियाको विमानमार्फत काठमाडौं आएका मोहम्मद सब्बिर पक्राउ परेका हुन्।

साउन २१ गते राति बैंककबाट थाई एयरवेजमार्फत काठमाडौं आएका भारतीय नागरिक २६ वर्षीय अर्सलान रशिदले सब्बिरलाई विमानस्थलको चेकजाँच क्षेत्रमा पुग्नुअघि नै गाँजा हस्तान्तरण गरेको प्रहरीले जनाएको छ।

प्रहरीलाई झुक्याउन दुवैले एउटै समय आसपासको टिकट मिलाएर यात्रा गरेको अनुसन्धानबाट खुलेको छ। कलकत्ता घर भएका दुवै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

अनुसन्धानका क्रममा थाइल्यान्डबाट ल्याइएको गाँजा नेपाललाई ट्रान्जिट बनाएर भारत लैजाने गरेको खुलेको छ। अनुसन्धान अधिकृतहरूका अनुसार भारतमा थाइल्यान्डको गाँजाको मूल्य प्रतिकेजी करिब ५० लाख रुपैयाँसम्म पर्ने गरेको छ। थाइल्यान्डमा भने भारतीय रुपैयाँ करिब ३ लाखमा खरिद गरी नेपाल हुँदै भारत पुर्‍याउने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।