अन्तराष्ट्रिय

हमासको पूर्ण निःशस्त्रीकरण नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान

काठमाडौँ । इजरायलले गाजामा शान्ति प्रक्रियाको अर्को चरणमा अघि बढ्न अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे योजनालाई अस्वीकार गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्।

आइतबार मन्त्रिपरिषद्को बैठकमा बोल्दै नेतान्याहुले अमेरिकी प्रस्ताव अस्वीकार गरिएको जानकारी दिएका हुन्। उनका अनुसार हमाससँग रहेका भारी तथा हल्का सबै प्रकारका हतियार हटाइनुपर्नेछ र केवल कागजी वा औपचारिक निःशस्त्रीकरण आफूहरूलाई स्वीकार्य नहुने बताए।

अमेरिकासँग यस विषयमा छलफल जारी रहेको भन्दै नेतान्याहुले अमेरिकी योजनाका केही विषय इजरायललाई स्वीकार्य भए पनि केही विषयमा असहमति रहेको बताए।

उनले आफ्नो कार्यकालमा गाजा वा वेस्ट बैंकमा प्यालेस्टिनी राज्य स्थापना हुन नदिने अडानसमेत दोहोर्‍याए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमाससहित अन्य सशस्त्र समूहलाई निःशस्त्र बनाउने योजनालाई ऐतिहासिक सम्झौताको रूपमा अघि सारेका थिए। तर, हमासले इजरायलले गाजामा आक्रमण रोक्नुपर्ने र अक्टोबरमा भएको युद्धविराम सम्झौताअनुसार तोकिएको ‘येलो लाइन’ सम्म सेना फिर्ता गर्नुपर्ने सर्त राख्दै आएको छ।

हाल इजरायली सेनाले गाजाको पूर्वी र दक्षिणी क्षेत्रको आधाभन्दा बढी भूभाग नियन्त्रणमा राखेको बताइएको छ।