काठमाडौँ । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा तीव्र गतिमा फैलिएको डढेलोका कारण करिब २२ हजार मानिस घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन्। आगलागी नियन्त्रणका लागि प्रान्तीय सरकारको प्रयास जारी रहे पनि अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण अवस्था चुनौतीपूर्ण बनेको छ।
आइतबारसम्म ब्रिटिस कोलम्बियामा १०२ वटा डढेलो सक्रिय रहेको बताइएको छ। तीमध्ये करिब आधा आगलागी नियन्त्रणबाहिर रहेको अधिकारीहरूले जनाएका छन्। पछिल्लो एक सातामै ७८ वटा नयाँ डढेलो सुरु भएका छन्।
समरल्याण्ड क्षेत्रमा करिब १२ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने नजिकैको पिचल्यान्डबाट थप करिब ८ हजार मानिसलाई विस्थापित गरिएको छ। अन्य करिब १० हजार मानिसलाई भने जुनसुकै बेला घर छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन भनिएको छ।
बेल्ड रेन्ज क्षेत्रमा फैलिएको डढेलो केही घण्टामै तीव्र रूपमा विस्तार हुँदै १३६ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अधिकारीहरूले बताएका छन्। आगो तीव्र गतिमा फैलिँदा ओकानागन ताल आसपासका बस्तीहरूमा समेत जोखिम बढेको छ।
डढेलोको अवस्थालाई गम्भीर मान्दै ब्रिटिस कोलम्बिया सरकारले आपत्काल घोषणा गरेको छ। आगलागी प्रभावित नागरिकलाई आवश्यक आश्रय तथा बसोबासको व्यवस्था गर्न क्यानडा सरकारले संघीय सहयोग उपलब्ध गराउने जनाएको छ।
अधिकारीहरूका अनुसार अत्यधिक गर्मी र लामो समयदेखिको सुख्खा मौसमले आगलागीलाई असामान्य रूपमा तीव्र बनाएको हो। आगामी दिनमा चट्याङसहितको मौसम पूर्वानुमान गरिएकाले थप डढेलो फैलिन सक्ने जोखिम पनि रहेको छ।
डढेलो नियन्त्रणका लागि हेलिकोप्टरसहित ठूलो संख्यामा अग्निनियन्त्रक परिचालन गरिए पनि बाक्लो धुवाँ, तीव्र हावा र अस्थिर मौसमका कारण उद्धार तथा नियन्त्रण कार्यमा कठिनाइ भइरहेको छ। केही क्षेत्रमा घर तथा संरचनामा क्षति पुगेको विवरण आए पनि कति संरचना पूर्ण रूपमा नष्ट भए भन्ने यकिन विवरण सार्वजनिक भइसकेको छैन।
विशेषज्ञहरूले पछिल्लो समय क्यानडा र अमेरिकाको पश्चिमी क्षेत्रमा देखिएका अत्यधिक तीव्र डढेलो जलवायु परिवर्तन, उच्च तापक्रम र लामो समयको सुख्खासँग जोडिएको बताएका छन्। उनीहरूले आगामी केही साता पनि आगलागीको जोखिम उच्च रहन सक्ने चेतावनी दिएका छन्।
ब्रिटिस कोलम्बियाका अधिकारीहरूले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जान र आपत्कालीन अवस्थाका लागि आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेका छन्।








Add Comment