विविध

कम तौलमा ग्यास बिक्री गरेको भेटिएपछि कोशी ग्यास उद्योग कारबाहीमा

विराटनगर । उपभोक्तालाई कम परिमाणमा ग्यास बिक्री गरेको पाइएपछि मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रा.लि. लाई जिल्ला प्रशासन कार्यालय मोरङले २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।

बजार अनुगमनका क्रममा उद्योगमा रहेका रिफिल गरिएका ग्यास सिलिन्डरको तौल परीक्षण गर्दा मापदण्डभन्दा कम ग्यास भेटिएपछि प्रशासनले कारबाही गरेको हो।

अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल सिलिन्डरमध्ये ६४ वटा सिलिन्डरको तौल जाँच गरेको थियो। तीमध्ये एउटा सिलिन्डरमा १३.७४५ किलोग्राम मात्र ग्यास रहेको पाइएको प्रशासनले जनाएको छ। बाँकी ६३ वटा सिलिन्डरको तौल परीक्षण गर्दा पनि औसत तौल मापदण्डअनुसार नभएको भेटिएको थियो।

त्यसैगरी, उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा १०० देखि १५० ग्रामसम्म बढी रहेको पाइएको प्रशासनले जनाएको छ। यसबाट उपभोक्ताले तोकिएको परिमाणभन्दा कम ग्यास पाउने अवस्था देखिएको भन्दै उद्योगमाथि कारबाही गरिएको हो।

अनुगमनका क्रममा अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग बन्द अवस्थामा समेत भेटिएको थियो। यस विषयमा उद्योगविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

यसैबीच, विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्स लाई पनि प्रशासनले कारबाही गरेको छ। अनुगमन टोलीलाई जाँच तथा निरीक्षणमा आवश्यक सहयोग नगरेको भन्दै ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङले एलपी ग्यासको वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै उपभोक्ताको हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। प्रशासनले आगामी दिनमा पनि उपभोक्ता ठगी वा अनुगमनमा असहयोग गरेको पाइएमा कानुनअनुसार थप कडा कारबाही गरिने चेतावनी दिएको छ।