विविध

राइड–सेयरिङ कम्पनीविरुद्ध राइडरको प्रदर्शन, माइतीघरमा शान्तिपूर्ण बाइक र्‍याली

काठमाडौँ । राइड–सेयरिङ सेवामा आबद्ध चालकहरूले कम्पनीले लिने कमिसन घटाउनुपर्ने र यात्रु भाडा वैज्ञानिक तथा न्यायोचित रूपमा निर्धारण गर्नुपर्ने मागसहित आन्दोलनलाई निरन्तरता दिएका छन्। स्वतन्त्र चालक फाउन्डेसन नेपालको नेतृत्वमा राइडरहरूले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण बाइक र्‍यालीसहित प्रदर्शन गरेका हुन्।

इन्ड्राइभ, पठाओ र याङ्गोजस्ता प्रमुख राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध चालकहरू पछिल्ला दिनदेखि आफ्ना माग राख्दै आन्दोलनमा छन्। तीन दिनअघिदेखि सुरु भएको प्रदर्शनका क्रममा चालकहरूले कुपन्डोलस्थित इन्ड्राइभको कार्यालयबाहिरसमेत प्रदर्शन गरेका थिए। अहिले आन्दोलन माइतीघर मण्डलासम्म पुगेको छ।

प्रदर्शनमा सहभागी चालकहरूले कम्पनीको कमिसन घटाउनुपर्ने, चालकको श्रमअनुसार उचित आम्दानी सुनिश्चित गर्नुपर्ने, यात्रु भाडा समयसापेक्ष रूपमा समायोजन गर्नुपर्ने र राइडरको सुरक्षा तथा अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

स्वतन्त्र चालक फाउन्डेसन नेपालकी अध्यक्ष रेश्मा बिसुन्केका अनुसार चालु आर्थिक वर्षदेखि सरकारले लागू गरेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को भारसमेत चालकहरूले बेहोर्नुपर्ने अवस्था बनेपछि आर्थिक समस्या थप बढेको छ। पुरानै भाडादरमा सेवा दिँदै कम्पनीलाई उच्च कमिसन बुझाउनुपर्दा चालकको वास्तविक आम्दानी घटिरहेको उनको भनाइ छ।

चालकहरूले हाल कायम रहेको भाडादर र कमिसन संरचनाको पुनरावलोकन गरी वैज्ञानिक भाडा निर्धारण प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्। उनीहरूले कम्पनी र सम्बन्धित सरकारी निकायले राइडरका समस्यालाई गम्भीर रूपमा लिएर वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका छन्।

माइतीघरमा भएको पछिल्लो प्रदर्शनमा राइडरहरूले एकताबद्ध हुँदै आफ्ना मागप्रति ध्यानाकर्षण गराएका छन्। आन्दोलनका क्रममा उनीहरूले श्रमको उचित मूल्य, कमिसनमा न्याय र राइडरमाथिको शोषण अन्त्य गर्नुपर्ने नारासहित आवाज उठाएका थिए।

राइडरहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप निरन्तरता दिने संकेत गरेका छन्। अहिलेको प्रदर्शनलाई उनीहरूले लामो समयदेखि राइड–सेयरिङ क्षेत्रमा देखिँदै आएका कमिसन, भाडादर, करको भार, आम्दानी र कार्यस्थल सुरक्षासम्बन्धी समस्याको समाधानका लागि दबाब दिने अभियानका रूपमा अघि बढाएका छन्।