विविध

गञ्जेडाँडा हत्या घटनाको अनुसन्धानमा थप दुई जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको तोईबहादुर कटुवाल हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

गत साउन २३ गते बिहान करिब ७ः३० बजे सोही स्थानका ४६ वर्षीय तोईबहादुर कटुवाल धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै यसअघि एक जनालाई पक्राउ गरेको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले साउन २५ गते थप दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा १७ वर्षीय किशोर र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका २१ वर्षीय बिनोद खड्का रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको छ। हत्या घटनाको कारण तथा संलग्नताबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।