अन्तराष्ट्रिय

७.४ म्याग्निच्युडको भूकम्पले कोलम्बियामा ठूलो क्षति, १११ जनाको मृत्यु

काठमाडौँ । कोलम्बियामा सोमबार गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। सयौँ मानिस अझै सम्पर्कविहीन रहेको र भग्नावशेषमा मानिसहरू फसेको आशंका गरिएको छ।

भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमार आसपास रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। करिब १०७ किलोमिटर गहिराइमा गएको भूकम्पपछि केही घण्टामै कम्तीमा २१ वटा परकम्पसमेत महसुस गरिएको थियो।

भूकम्पका कारण काली, पेरेइरा, क्विब्दो र मानिजालेससहित पश्चिमी कोलम्बियाका विभिन्न शहर प्रभावित भएका छन्। कालीमा मात्रै कम्तीमा २० वटा भवन पूर्ण रूपमा भत्किएका छन् भने सयौँ संरचनामा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

पेरेइरामा समेत भवनहरूमा ठूलो क्षति पुगेको छ। विमानस्थलका केही संरचनामा क्षति भएपछि पश्चिमी क्षेत्रका केही विमानस्थलमा उडानसमेत अस्थायी रूपमा रोकिएको छ। मानिजालेसमा ऐतिहासिक गिर्जाघरको एक भागसमेत भत्किएको बताइएको छ।

चोको क्षेत्रमा सञ्चार सेवा प्रभावित भएकाले क्षतिको पूर्ण विवरण आउन समय लागिरहेको छ। स्थानीय अधिकारीहरूले उक्त क्षेत्रमा पनि मानिसहरू घाइते हुनुका साथै धेरै जना बेपत्ता रहेको बताएका छन्।

भूकम्पपछि उद्धार टोली, सुरक्षाकर्मी र स्थानीय बासिन्दा भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटेका छन्। सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ।

कोलम्बियाको भूगर्भीय सेवाले यो भूकम्प २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प भएको जनाएको छ। भूकम्पपछि अमेरिका, इजरायल, इक्वेडर, फ्रान्ससहित विभिन्न देशले कोलम्बियालाई सहयोगको प्रस्ताव गरेका छन्।