जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ।
जनकपुरधामस्थित आफ्नै निवासमा सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएका बिमलको उपचारकै क्रममा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा. विभाष लाभले जानकारी दिएका छन्।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेसम्म उनी सामान्य रूपमा कुराकानी गरिरहेका थिए। कुराकानीकै क्रममा अचानक अस्वस्थ भएपछि उनलाई तत्काल नजिकैको अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचार भइरहेकै बेला उनको निधन भएको हो।
हाल डा. बिमलको पार्थिव शरीर जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने डा. विजय दत्तले जानकारी दिएका छन्।
नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्य सिर्जना गरेका बिमलले साहित्यका विभिन्न विधामा महत्वपूर्ण योगदान दिएका थिए। भाषाविज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए।
डा. बिमल सन् २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा समेत सक्रिय थिए। शिक्षणसँगै साहित्य सिर्जना र भाषासम्बन्धी अध्ययन–अनुसन्धानमा उनको महत्वपूर्ण योगदान रहेको थियो।
साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनले जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए।
डा. बिमलको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन्।








Add Comment