विविध

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।

देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो करिब २ बजे नुहाउन गएका उनीहरू पानीमा डुबेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

बालबालिका नदीमा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ।

सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली घटनास्थलमा खटिएको छ। थप खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोलीसमेत परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन्।

बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।