ललितपुर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धीसहित विभिन्न पाँच स्थानमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साउन २२ गते बिहान हरिसिद्धीस्थित रिना महर्जनको घरमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले सीसीटीभी फुटेजका आधारमा शंकास्पद व्यक्तिको खोजी गरेको थियो। सोही क्रममा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथमा रहेको कालो झोलाभित्र चोरीका सुन तथा चाँदीजस्ता देखिने विभिन्न गरगहना, सेतो धातुका औँठी, पुराना तथा नयाँ सिक्का र रु. ११ हजार ३ सय ९० नगद फेला परेको छ।
त्यस्तै, प्रहरीले दुई वटा लेडिज झोला समेत बरामद गरेको जनाएको छ। बरामद गरिएका गरगहनामध्ये सुनजस्तो देखिने नौगेडी, हार, झुमका, औँठी, सिक्री, तिलहरी तथा चुरा–बाला लगायतका सामग्री छन्। चाँदीजस्तो देखिने औँठी, हार, सिक्री, ब्रासलेट र पाउजु पनि फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका महर्जनमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।








Add Comment