विविध

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक जना अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।

साउन २६ गते खोलामा नुहाउने क्रममा करिब १० वर्षीय महमद रमतुलाह, १० वर्षीया सबनम खातुन र १० वर्षीया रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको थियो। सशस्त्र प्रहरीको रबर बोटसहितको टोलीसमेत खोजीमा खटिएको थियो।

खोजीका क्रममा साउन २७ गते बिहान महमद रमतुलाह र सबनम खातुनको शव घटनास्थलभन्दा करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेका थिए।

रौशन खातुनको भने अझै अवस्था अज्ञात रहेको छ। उनको खोजीका लागि सुरक्षा टोलीले खोलामा निरन्तर खोजी कार्य गरिरहेको जनाएको छ।