विविध

लागूऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख जरिवाना भएका फरार कैदी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदी मकवानपुरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको साविक टिष्टुङ गाविस–३, हाल थाहा नगरपालिका–११ ठूलोठाडे बस्ने ६० वर्षीय मेक्सो लो रहेका छन्। उनलाई प्रहरीले थाहा नगरपालिका–११ ठूलोठाडेबाट पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौंले लोमाथि २०७७ माघ १८ गते ३ किलो लागूऔषध (अफिम) सहित पक्राउ गरेको थियो। अदालतको फैसलाअनुसार उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।

फैसलापछि कैद भुक्तान गरिरहेका लो जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए।

पक्राउ परेपछि उनलाई पुनः कारागार चलान गरिएको प्रहरीले जनाएको छ।