विविध

बाजुरामा पहिरोमा परी दुई जना घाइते, एक बेपत्ता

बाजुरा । लगातारको वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।

बिहीबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको हो। पहिरोमा परेर उनीहरूको परिवारका दुई जना सामान्य घाइते भएका छन्।

पहिरोमा परेका एक जना भने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ।

लगातारको वर्षाका कारण थप पहिरोको जोखिमसमेत रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।