विविध

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पा । अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परी दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता छन्।

घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई उपचारका लागि बुटवल पठाइएको छ।

प्रहरीका अनुसार रोल्पाको घटनास्थलबाट पाँच जनाको शव फेला परेको छ। मृत्यु हुनेमा थबाङ–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

पहिरोमा बेपत्ता भएका तथा पछि प्युठानमा शव फेला परेका पाँच जनाको पनि पहिचान खुलेको छ। उनीहरूमा ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन्।

पहिरोमा थबाङ–५ का ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर बेपत्ता छन्।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण घटनास्थलमा थप पहिरोको जोखिमसमेत रहेको छ।