काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै आएको कुरिल द्वीपसमूहमध्ये एक प्रमुख दक्षिणी टापु इटुरुपको भ्रमण गरेका छन्। यो पुटिनको कुरिल द्वीपसमूहमा भएको पहिलो भ्रमण हो।
भ्रमणका क्रममा पुटिनले इटुरुपमा रहेको माछा प्रशोधन केन्द्र, अस्पताल र विद्यालयको निरीक्षण गरेका थिए। उनले स्थानीय बासिन्दासँग छोटो कुराकानी गर्नुका साथै सखालिन क्षेत्रका गभर्नर भालेरी लिमारेन्कोसँग पनि भेट गरेका थिए।
पुटिनको भ्रमणप्रति जापानले भने कडा असन्तुष्टि जनाएको छ। जापानले इटुरुपलाई ‘एटोरुफु’ भन्दै आफ्नो ऐतिहासिक तथा अन्तर्राष्ट्रिय कानुनअनुसारको भूभाग भएको दाबी गर्दै आएको छ।
जापानी विदेशमन्त्री तोसिमित्सु मोटेगीले रुसी कदमप्रति औपचारिक विरोध जनाउँदै टोकियोस्थित रुसी राजदूत निकोलाई नोज्द्रेभलाई विदेश मन्त्रालयमा बोलाएका थिए। जापानले भ्रमण तत्काल रोक्नुपर्ने सन्देश मस्कोसम्म पुर्याउन आग्रह गरेको जनाएको छ।
रुसी दूतावासले भने जापानको विरोधलाई अस्वीकार गरेको छ। दक्षिणी कुरिल टापुहरू दोस्रो विश्वयुद्धपछि वैधानिक आधारमा रुसको हिस्सा बनेको र ती क्षेत्र रुसको अभिन्न भूभाग भएको उसको दाबी छ। साथै, रुसी नेतृत्वले गर्ने भ्रमण आफ्नै सार्वभौम निर्णय भएकाले त्यसबारे अन्य देशसँग छलफल गर्नुपर्ने विषय नरहेको दूतावासले जनाएको छ।
दक्षिणी कुरिलका चारवटा टापुमाथि जापानले लामो समयदेखि दाबी गर्दै आएको छ। दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सोभियत संघले जापानबाट ती टापुहरू आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको विवादका कारण दुई देशबीच औपचारिक शान्ति सम्झौता हुन सकेको छैन।
पुटिनले भ्रमणअघि सखालिनमा रुसी प्रशान्त महासागर बेडाका सैन्य अभ्यासको निरीक्षण गरेका थिए। त्यस क्रममा उनले दोस्रो विश्वयुद्धको परिणामपछि बनेको कुरिलको वर्तमान अवस्था अन्तर्राष्ट्रिय दस्तावेजमा स्थापित रहेको बताएका थिए। यद्यपि, जापानसँग शान्ति सम्झौताको बाटो खोज्न रुस अझै तयार रहेको उनको भनाइ थियो।
रुस–जापान सम्बन्धमा युक्रेन युद्धपछि थप तनाव देखिएको छ। जापानले सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि प्रतिबन्ध लगाएको थियो।
जापानी प्रधानमन्त्री साने ताकाइचीले पुटिनको इटुरुप भ्रमण जापानको अडानसँग मेल नखाने भन्दै यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ बताएकी छन्। उनका अनुसार पछिल्लो घटनाले दुई देशबीचको सम्बन्ध सुधारलाई थप कठिन बनाएको छ।
कुरिल विवादका कारण लामो समयदेखि जापानी नागरिकको पूर्वआवासीय टापुमा फर्किने तथा आफ्ना पुर्खाको समाधिमा श्रद्धाञ्जली दिने विषय पनि संवेदनशील रहँदै आएको छ।
यसैबीच, रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले जापानी प्रधानमन्त्रीको प्रतिक्रियामाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै टोकियोको विरोधले परिस्थितिमा कुनै परिवर्तन नल्याउने संकेत गरेका छन्।








Add Comment