विविध

Samsung फोनमा आउँदैछ App Lock, One UI 9.5 मा देखियो नयाँ फीचर

काठमाडौं । Samsung Galaxy फोन प्रयोगकर्ताका लागि लामो समयदेखि प्रतीक्षित App Lock सुविधा अब आउने सम्भावना देखिएको छ। Samsung ले विकास गरिरहेको One UI 9.5 मा एप तथा गेमलाई सिधै लक गर्न सकिने विकल्प भेटिएको हो।

One UI 9.5 मा आधारित फर्मवेयर परीक्षण गर्ने क्रममा App Lock सम्बन्धी सुविधा फेला परेको हो। यसबाट प्रयोगकर्ताले फोनमा रहेका कुनै पनि एप वा गेमलाई छुट्टै Secure Folder मा नराखी सिधै लक गर्न सक्नेछन्।

यसका लागि होम स्क्रिन वा एप ड्रअरमा रहेको एपको आइकनमा लामो समय थिचेपछि देखिने मेनुबाट लक आइकन चयन गर्नुपर्नेछ। त्यसपछि सम्बन्धित एप लक हुने व्यवस्था रहेको बताइएको छ।

लक गरिएको एप खोल्दा छुट्टै पासवर्ड वा PIN आवश्यक पर्ने छैन। फोन अनलक गर्न प्रयोग गरिने स्क्रिन लक प्रणालीकै माध्यमबाट एप खोल्न सकिनेछ। यसले प्रयोगकर्तालाई हरेक एपका लागि अलग पासवर्ड सम्झिनुपर्ने झन्झटबाट मुक्त गर्नेछ।

Samsung फोनमा अहिले निजी एप तथा सामग्री सुरक्षित राख्न Secure Folder उपलब्ध छ। तर कुनै एउटा एपलाई मात्र छिटो र सजिलो तरिकाले लक गर्ने छुट्टै सुविधा भने उपलब्ध छैन। यही कारण App Lock लाई Samsung प्रयोगकर्ताका लागि उपयोगी नयाँ सुविधा मानिएको छ।

One UI 9.5 Android 17 मा आधारित हुने र आगामी Galaxy S27 सिरिजसँगै सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। त्यसपछि योग्य Galaxy S26 सिरिज तथा नयाँ Galaxy Z Flip र Z Fold मोडलहरूमा पनि यो सुविधा उपलब्ध हुन सक्नेछ।

App Lock सुविधा आएपछि Samsung Galaxy प्रयोगकर्ताले WhatsApp, Gallery, Banking App, Game लगायत आफूले निजी राख्न चाहेका एपहरूलाई फोनमै सजिलै लक गर्न सक्नेछन्।