अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

काठमाडौं । इन्डोनेसियाको पूर्वी तटीय क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि विभिन्न क्षेत्रमा परकम्पसमेत महसुस भएको इन्डोनेसियाको भूभौतिकी निकाय (BMKG) ले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ४ः५८ बजे गएको भूकम्प करिब एक मिनेटसम्म केही क्षेत्रमा तीव्र रूपमा महसुस भएको थियो। भूकम्पपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रारम्भिक चेतावनी जारी गरेका थिए।

भूकम्पपछि केही तटीय क्षेत्रमा ३ फिटभन्दा कम उचाइका सुनामी छाल रेकर्ड गरिएको बताइएको छ। अवस्था सामान्य बन्दै गएपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामी चेतावनी हटाएका छन्।

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए। पूर्वी इन्डोनेसियाका केही क्षेत्रमा भवनका संरचनामा क्षति पुगेको दृश्य सार्वजनिक भएका छन् भने एन्डे जिल्लास्थित एक अस्पतालले बिरामीलाई सुरक्षित राख्न बाहिर सारेर उपचार जारी राखेको जनाएको छ।

भूकम्पबाट हालसम्म ठूलो मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। अधिकारीहरूले प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा अवस्थाको निगरानी गरिरहेका छन्।

अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त भूकम्पबाट अस्ट्रेलियाको मुख्यभूमि, द्वीप वा क्षेत्रहरूमा सुनामीको खतरा नरहेको जनाएको छ।