विविध

हेटौँडा बसपार्कमा पार्किङ विवादले उग्र रूप लिँदा चार जना घाइते, चार जना नियन्त्रणमा

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

साउन २९ गते बिहान करिब ११ः३० बजे मनहरी गाउँपालिका–१ मकरीका करिब ३१ वर्षीय लक्ष्मण बर्तौलासहितका व्यक्तिबीच पार्किङको विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ्दै जाँदा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

घटनामा मनहरी–६ का २७ वर्षीय जीवन गोले र चितवन राप्ती–२ का ३२ वर्षीय रामबहादुर पाख्रीन मध्यम घाइते भएका छन्। यस्तै, ओखलढुङ्गा सिंहदेवी–७ का २८ वर्षीय राइज आले मगर र चितवन राप्ती–४ का २८ वर्षीय जीवन तामाङ सामान्य घाइते भएका छन्।

चारै जनाको हेटौँडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा हेटौँडा–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, घटनामा संलग्न रहेको शंकामा भक्तपुर सूर्यविनायक–२ का ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।