अन्तराष्ट्रिय

इन्डोनेसियाको फ्लोरेसमा ७.७ म्याग्निच्युडको भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको फ्लोरेस टापु आसपास शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युडको भूकम्पका कारण भवनहरू भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार स्थानीय समयअनुसार बिहान ५ः५८ बजे गएको भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–उत्तरपश्चिममा रहेको थियो। भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको बताइएको छ।

मुख्य भूकम्पपछि आधा घण्टाभित्रै ५.९, ५.६ र ६.१ म्याग्निच्युडका तीन परकम्प समेत महसुस भएका थिए।

पूर्वी नुसा तेङ्गारा प्रहरी प्रमुख रुडी दार्मोकोका अनुसार सिक्का रिजेन्सीमा दुई जना र मङ्गराई रिजेन्सीमा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ। भूकम्पका कारण केही भवन भत्किएका छन् भने विद्युत् तथा सञ्चार सेवामा आएको अवरोधले उद्धार तथा क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ।

प्रदेशका गभर्नर इमानुएल मेल्कियादेस लाका लेना अनुसार मृत्यु हुनेहरू भूकम्पका बेला घरभित्र सुतिरहेका थिए र भवनको भग्नावशेषमा पुरिएका थिए।

भूकम्पपछि इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकाय (BMKG) ले प्रभावित तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गर्दै सर्वसाधारणलाई समुद्री किनार तथा नदी आसपासबाट टाढा रहन र सुरक्षित अग्लो स्थानतर्फ जान आग्रह गरेको थियो। पछि उक्त चेतावनी हटाइएको छ।

फ्लोरेस टापुका केही क्षेत्रमा ठूलो क्षति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विशेषगरी माउमेरे आसपासका क्षेत्रमा भवन तथा घरहरूमा क्षति पुगेको विवरण आएको छ। उत्तरी क्षेत्रमा केही बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ भने उद्धार टोली पुग्न नसकेका क्षेत्रको अवस्था अझै स्पष्ट हुन सकेको छैन।

भूकम्पपछि परकम्प केही दिनसम्म आउन सक्ने भन्दै स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई क्षतिग्रस्त भवन तथा समुद्री किनारबाट टाढा रहन आग्रह गरेका छन्।

इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो। यसै क्षेत्रमा सन् १९९२ मा गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा फ्लोरेसमा २ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।