विविध

मुस्ताङमा शंकास्पद ८ कन्टेनर नियन्त्रणमा, चालकसहित राजस्व अनुसन्धान कार्यालय पठाइयो

मुस्ताङ । मुस्ताङको जोमसोमबाट प्रहरीले शंकास्पद अवस्थामा रहेका आठ वटा कन्टेनर र तिनका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन ललितपुर पठाएको छ।

घरपझोङ गाउँपालिका–४ स्थित पर्यटक चेकपोष्टमा शुक्रबार दिउँसो प्रहरीले गोप्य सूचनाका आधारमा कन्टेनरका कागजात जाँच तथा चालकसँग सोधपुछ गरेको थियो।

प्रारम्भिक जाँचका क्रममा ती कन्टेनरहरू भन्सार यार्डमा आवश्यक चेकजाँच नगराई सिलबन्दी अवस्थामा ल्याइएको देखिएपछि प्रहरीले शंका गरेको हो। कन्टेनरभित्र अवैध वस्तु हुनसक्ने आशंकामा सबै सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका कन्टेनरका चालकहरू धादिङ, दोलखा, पाल्पा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकलगायत जिल्लाका रहेका छन्।

आठै कन्टेनर र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ। कन्टेनरभित्र के वस्तु रहेको छ भन्ने विषयमा थप जाँचपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।