काठमाडौं । उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनलाई धेरैजसो अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने समस्या मानिन्छ। नियमित रक्तचाप जाँच नगर्दा लामो समयसम्म यसको अवस्था थाहा नहुन सक्छ। नियन्त्रणमा नराख्दा मुटु, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पर्नुका साथै हृदयघात र स्ट्रोकको जोखिम बढ्न सक्छ।
रक्तचाप बढ्नुका प्रमुख कारणमा धेरै नुन सेवन, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, बढी तौल वा मोटोपन, धूमपान तथा अत्यधिक मदिरा सेवनलगायत पर्छन्। उमेर र वंशाणुगत कारणले पनि जोखिम बढाउन सक्छ। मधुमेह र मोटोपनजस्ता स्वास्थ्य समस्यासँग पनि उच्च रक्तचापको सम्बन्ध हुन्छ।
कसरी नियन्त्रण गर्ने?
स्वस्थ खानपान अपनाउने, नुनको मात्रा घटाउने, नियमित शारीरिक गतिविधि गर्ने, तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने र मदिराको सेवन सीमित गर्ने उपायले रक्तचाप नियन्त्रणमा सहयोग गर्छ। नियमित रक्तचाप जाँच गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
उच्च रक्तचाप पुष्टि भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ। आवश्यक परे जीवनशैलीमा सुधारसँगै रक्तचाप घटाउने औषधि प्रयोग गरिन्छ। आफैंले औषधि सुरु गर्ने, बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने गर्नु हुँदैन।
विशेषगरी रक्तचाप बढेको भन्दै घरमै तत्काल घटाउने उपाय खोज्नुभन्दा स्वास्थ्यकर्मीबाट जाँच र उचित उपचार लिनु आवश्यक हुन्छ। नियमित निगरानी र उपचारले उच्च रक्तचापका कारण हुने गम्भीर स्वास्थ्य जोखिम कम गर्न मद्दत गर्छ।








Add Comment