जाजरकोट । लगातारको वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा घर तथा अस्थायी टहरा पुरिँदा ७ जना घाइते भएका छन्। पहिरोपछि दुई जना सम्पर्कविहीन छन्।
पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको कच्ची घर तथा सोही क्षेत्रकी भैरवी केसीका दुईवटा टिनका टहरा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
घाइतेमध्ये रामबहादुर शाही र भद्राकली कार्कीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई जाजरकोट अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि क्रमशः नेपालगञ्ज र सुर्खेत पठाइएको छ। अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ।
पहिरो आएपछि सुरक्षित स्थानतर्फ जाने क्रममा भेरी–२ फारुलाकी ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन भएका हुन्।
पहिरोका कारण घटनास्थल पुग्ने सडकसमेत अवरुद्ध भएपछि सुरक्षाकर्मीहरू पैदलै घटनास्थलतर्फ पुगेका छन्। उद्धार टोलीले घाइतेलाई अस्पताल पठाउने, बेपत्ताको खोजी गर्ने तथा पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने काम गरिरहेको छ।








Add Comment