विविध

जाजरकोटमा पहिरोको क्षति बढ्दै, १० जना घाइते र ३ जना सम्पर्कविहीन

जाजरकोट । लगातारको वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।

साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षापछि रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोबाट घर भत्किएको तथा बस्ती जोखिममा परेको खबर पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० जनाको टोली उद्धारका लागि परिचालन गरिएको छ।

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले, ६ कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा रहेका पाँच जना भने आफन्तको घरमा सुरक्षित बसेका छन्। सोही स्थानकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा भत्काएको प्रहरीले जनाएको छ। ती टहरामा भने मानिस बस्दै आएका थिएनन्।

पहिरोमा परी घाइते भएकामध्ये रामबहादुर शाही र भद्राकली कार्कीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि क्रमशः नेपालगञ्ज र सुर्खेत पठाइएको छ। केदार कार्कीलाई पनि जिल्ला अस्पतालमा उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ।

अन्य घाइते सिद्धिबहादुर कामी, मनवीर चदरा, मनिषा विक, मोतीकला विक, अनिता कार्की, १० वर्षीय युनिश शाही र सुन्तली चदराको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।

तीन जना सम्पर्कविहीन

पहिरोपछि सुरक्षित स्थानतर्फ जाने क्रममा भेरी–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी–२ कै करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

उनीहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरोका कारण केही स्थानमा आवतजावतसमेत प्रभावित भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

घटनाबाट भएको क्षतिको थप विवरण संकलन तथा सम्पर्कविहीनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।