काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुँदै आएको संयुक्त सैन्य अभ्यासको आकार घटाउने बताएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनकोसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत संयुक्त सैन्य अभ्यास खर्चिलो हुनुका साथै उत्तर कोरियाका लागि अनावश्यक रूपमा शत्रुतापूर्ण सन्देश जाने दाबी गरेका छन्। उनले अभ्यासको ठूलो खर्च अमेरिकाले बेहोर्दै आएको समेत उल्लेख गरेका छन्।
यद्यपि, दक्षिण कोरियाले भने अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट पारेको छ। वार्षिक रूपमा हुँदै आएको ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यास सोमबारदेखि सुरु हुने तयारी छ।
अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूका अनुसार यस वर्षको अभ्यास करिब ११ दिन सञ्चालन हुनेछ। अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुनेछन्। दक्षिण कोरियामा करिब २८ हजार ५ सय अमेरिकी सैनिक तैनाथ छन्।
ट्रम्पले आफ्नो पोस्टमा दक्षिण कोरियाले इरानको ‘निःशस्त्रीकरण’ अभियानमा अमेरिकासँग सहभागी हुन अस्वीकार गरेको विषयसमेत उठाएका छन्। यसले दक्षिण कोरियासँग अमेरिकाको सम्बन्धमा ट्रम्पको असन्तुष्टि झल्किएको विश्लेषण गरिएको छ।
यसैबीच, उत्तर कोरियाले भने अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रामक युद्धको तयारीका रूपमा आलोचना गर्दै आएको छ। उत्तर कोरियाले पछिल्लो समय संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलाई समेत निरन्तरता दिएको छ।
ट्रम्पले यसअघि सन् २०१८ मा किम जोङ उनसँगको वार्ताका क्रममा अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित गरेका थिए। सन् २०२० मा कोरोना महामारीका कारण समेत अभ्यासको स्वरूप घटाइएको थियो।
पछिल्लो समय कोरियाली प्रायद्वीपमा सैन्य गतिविधि बढिरहेका बेला ट्रम्पको नयाँ घोषणाले अमेरिका–दक्षिण कोरिया सुरक्षा सहकार्य र उत्तर कोरियासँगको सम्बन्धलाई लिएर थप बहस सिर्जना गरेको छ।








Add Comment