विविध

कोशी ब्यारेजमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।

बुधबार साँझ करिब ५:२० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकानजिक को.६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–१ भलवा निवासी करिब ३५ वर्षीय ओम साफी र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २० वर्षीय मंजय साफी घाइते भएका थिए।

घाइते ओम साफीको भारदह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते मंजय साफीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।