काठमाडौं । रुसले युक्रेनले आफ्नो भूमिमा गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युद्ध थप चर्काउने प्रयास गरेको आरोप लगाएको छ।
बेलायतस्थित रुसी दूतावासले एक विज्ञप्ति जारी गर्दै बेलायत युक्रेनमा भएका ‘रक्तपातपूर्ण अपराध’मा सहभागी र सह–अपराधीका रूपमा अघि बढिरहेको आरोप लगाएको हो। बेलायतको संलग्नता जति बढ्दै जान्छ, त्यसको मूल्य पनि त्यति नै चुकाउनुपर्ने चेतावनी रुसले दिएको छ।
रुसको आरोपपछि बेलायतको रक्षा मन्त्रालयले भने युक्रेनलाई निरन्तर साथ दिने स्पष्ट पारेको छ। बेलायतले रुसी आक्रमणबाट आफ्नो रक्षा गर्न युक्रेनलाई आवश्यक सैन्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
दुई बेलायती कम्पनीले निर्माण गरेका ड्रोनहरू रुसभित्रका सैन्य तथा औद्योगिक संरचनालाई लक्षित गर्न प्रयोग भएको बताइएको छ। यस्ता आक्रमणमा तेल प्रशोधन केन्द्र, गोदाम तथा अन्य औद्योगिक संरचना समेत निशानामा परेको जनाइएको छ।
युक्रेनले रुसी क्षेत्रमा लामो दूरीका ड्रोनमार्फत आक्रमण तीव्र बनाउँदै आएको छ। पछिल्लो समय रुसमाथि भएका ठूला ड्रोन आक्रमणपछि दुवै पक्षबीच तनाव थप बढेको छ।
यसैबीच, रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेयता युद्ध जारी छ। रुसले हाल युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको दाबी गरिएको छ।
बेलायतले यसअघि युक्रेनलाई ठूलो संख्यामा ड्रोन उपलब्ध गराउने घोषणा गरिसकेको छ। जसमा लामो दूरीबाट प्रहार गर्न सक्ने ड्रोनसमेत समावेश छन्। पछिल्लो घटनाक्रमले रुस–बेलायतबीचको तनाव थप बढ्ने संकेत देखिएको छ।







Add Comment