विविध

लायन्स क्लब अन्नपूर्ण योगाको इन्डक्सन तथा इन्स्टलेशन कार्यक्रम सम्पन्न

काठमाडौं  । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगाको इन्डक्सन तथा इन्स्टलेशन कार्यक्रम विविध स्वास्थ्य सचेतना, योग, पदयात्रा, रथयात्रा, सांस्कृतिक प्रस्तुति तथा औपचारिक पदस्थापना र शपथ ग्रहणसहित भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ।

लायन वर्ष २०२५र०२६ का प्रेसिडेन्ट लायन उदय प्रसाद भण्डारीको नेतृत्वमा सम्पन्न सेवा कार्यहरूको स्मरण तथा सम्मान गर्दै लायन वर्ष २०२६र०२७ का नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सभामुख डोल प्रसाद अर्याल सहभागी थिए।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, डिस्ट्रिक्ट ३२५ एफका गभर्नर लायन अजय प्रसाद खनाल तथा पूर्व गभर्नर एवं टियु ब्लड बैंकका अध्यक्ष लायन डा। राजेन्द्र गिरीलगायत विशिष्ट अतिथि तथा लायन लिडरहरूको सहभागिता थियो।

कार्यक्रम बिहान ६ बजेदेखि प्राकृतिक चिकित्सा तथा स्वस्थ खानपानसम्बन्धी सचेतना कार्यक्रमबाट सुरु भएको थियो। डा। सुनिल पौडेलले प्राकृतिक चिकित्सा तथा स्वस्थ जीवनशैलीका विषयमा सहभागीलाई जानकारी गराएका थिए। त्यसपछि बिहान ७ बजेदेखि ७ः३० बजेसम्म योग प्रशिक्षक तथा मोटिभेसनल स्पिकर लायन ऋषि लोहनीले हास्ने कला तथा स्वस्थ रहने उपायबारे प्रशिक्षण दिएका थिए। अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर लायन सिमोन न्यौपानेले बिहान ७ः३० देखि ८ बजेसम्म स्वस्थ जीवनशैलीका विविध उपायबारे सचेतना दिँदै सहभागीलाई उत्प्रेरित गरेका थिए।

बिहान ८ बजेपछि आयोजना गरिएको लायन्स क्लबको रथयात्रा तथा पदयात्रामा प्रमुख तथा विशिष्ट अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, लायन लिडर, सर्वसाधारण तथा विद्यालयका विद्यार्थीको उल्लेखनीय सहभागिता थियो। पदयात्राका क्रममा लायन वर्ष २०२५र०२६ मा लायन उदय प्रसाद भण्डारीको नेतृत्वमा क्लबले सम्पन्न गरेका उत्कृष्ट सेवा कार्यहरूको स्मरण तथा सेलिब्रेसन गरिएको थियो।

पदयात्रापछि क्लबको पदस्थापना तथा शपथ ग्रहणको औपचारिक कार्यक्रम सभामुख डोल प्रसाद अर्यालले उद्घाटन गरेका थिए। सो अवसरमा क्लबका वर्षभरिका गतिविधि तथा सदस्यहरूको नामावली समेटिएको रङ्गिन स्मारिका सभामुख अर्याल, डिस्ट्रिक्ट ३२५ एफका गभर्नर तथा पूर्व डिस्ट्रिक्ट गभर्नरहरूले संयुक्त रूपमा विमोचन गरेका थिए।

डिस्ट्रिक्ट गभर्नर लायन अजय प्रसाद खनालले लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगा, लायन्स क्लब चन्द्रागिरि डिलाइट, लायन्स क्लब हिमालयन इन्टरप्रेनर्स तथा लियो क्लब इन्द्र अन्नपूर्ण योगाका नवनिर्वाचित सदस्य तथा पदाधिकारीलाई शपथ ग्रहण गराउँदै पदस्थापना गराएका थिए।

शपथ ग्रहणपछि लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगाका नवनिर्वाचित प्रेसिडेन्ट इन्जिनियर अमृत आचार्यलगायत सम्बन्धित क्लबका प्रेसिडेन्टहरूले मन्तव्य राखेका थिए। उनीहरूले सामाजिक सेवाप्रति प्रतिबद्ध रहँदै लायन्सका मूल्यमान्यता र आदर्शलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा नेपालको पहिलो महिला पूर्व डिस्ट्रिक्ट गभर्नर लायन सुष्मा शर्मा, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन रुद्रहरि ज्ञवाली, लायन डा। राजेन्द्र गिरी, डिस्ट्रिक्ट ३२५ एफका फस्ट भाइस प्रेसिडेन्ट लायन मनोज सापकोटा तथा सेकेन्ड भाइस प्रेसिडेन्ट किशोर भक्त श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए।

उनीहरूले लायन लिडर तथा डेन्टल विशेषज्ञ डा। सुवास घिमिरेको नेतृत्वमा दिगो क्लबहरू स्थापना भएको उल्लेख गर्दै निकट भविष्यमा डिस्ट्रिक्ट ३२५ एफको नेतृत्वमा डा। घिमिरेलाई पुर्‍याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा लायन लिडरहरू पनिता शर्मा बराल, भुवन नेपाल, वसन्त थापा, अर्जुन कार्की, प्रविन लाकोल, नेत्र प्रसाद न्यौपाने, दामोदर प्रसाद दवाडी, युवी महरा, सुमन थापालगायतको उल्लेखनीय उपस्थिति थियो। त्यस्तै, लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगाका पूर्व अध्यक्ष इन्द्रबहादुर न्यौपाने, माता लायन इन्द्रमाया न्यौपाने, लायन कृष्णजङ्ग थापा तथा लायन जीनमाया चापागाईंलगायतले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा स्मारिका प्रकाशन तथा व्यवस्थापनमा लायन कृष्णजङ्ग थापाले गरेको प्रयासको प्रशंसा गरिएको थियो। त्यसैगरी, कोषाध्यक्ष लायन टीका कुमारी खड्काले प्रस्तुत गरेको पारदर्शी आर्थिक प्रतिवेदनको पनि वक्ताहरूले प्रशंसा गरेका थिए। लायन दीपक कुमार महर्जन, लायन आस्था महर्जन, लायन साधुराम पौडेललगायत विभिन्न क्लबका लायन लिडरहरूको पनि कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगाका प्रथम उपाध्यक्ष लायन राजकुमार खरेलले निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी भएका सम्पूर्ण लायन तथा अतिथिलाई धन्यवाद दिएका थिए। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका थिए।

समापनका क्रममा लायन वर्ष २०२६/०२७ का प्रेसिडेन्ट लायन अमृत आचार्यले क्लबका सेवा कार्यमा सबैको हातेमालो र सहकार्य आवश्यक रहेको बताउँदै प्रभावकारी तथा उत्कृष्ट सामाजिक सेवामार्फत क्लबलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

क्लबका संस्थापक तथा डिस्ट्रिक्ट ३२५ एफका पूर्व कोषाध्यक्ष लायन डा. सुवास घिमिरेले आफ्नै अस्पतालमा क्लब सञ्चालन गर्न तथा योग शिविर आयोजना गर्न एउटा तल्ला नै उपलब्ध गराएको जानकारी दिए। निकट भविष्यमा क्लबको आफ्नै भवन निर्माण गर्ने तयारीसमेत भइरहेको उनले बताए।