मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित पाँच जना घाइते भएका छन्।
बुधबार बिहान करिब ७ बजे काठमाडौं–वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा स्कारपियोमा सवार ६ जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो। त्यहाँबाट चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा पठाइएको थियो भने अन्य चार जनालाई नेपाली सेनाको हेडक्वार्टरमार्फत काठमाडौंको छाउनी अस्पताल लगिएको थियो।
छाउनी अस्पतालमा उपचाररत रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको बिहान १०:२९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, चालक ३२ वर्षीय छुनिलाल चौधरी, रजिष्ट्रार ५१ वर्षीय तारादत्त बडु र उनका छोरा २५ वर्षीय रितेन्द्र बडु घाइते भएका छन्। यस्तै, रजिष्ट्रारकी छोरी ३१ वर्षीया रिता बडुको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको भए पनि सडकमा सवारी आवागमन भने सुचारु रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







Add Comment