कैलाली । कैलालीमा भन्सार छली गरी ल्याइएको आशंका गरिएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ३६ वर्षीय दिपक गौर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले अवैध रूपमा सुनजस्तो पदार्थ बोकेर हिँडिरहेको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१ बाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले गौरको शरीर खानतलासी गर्दा ८१ ग्राम ८८० मिलिग्राम तौलको सुनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ। बरामद पदार्थको अनुमानित मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ रहेको बताइएको छ।
गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत भेटिएको थियो। तर बिलमा पसलको छाप नरहेको तथा बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि प्रहरीले उक्त पदार्थ भन्सार छली गरी ल्याइएको आशंकामा नियन्त्रणमा लिएको हो।
बरामद पदार्थसहित गौरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको प्रहरीले जनाएको छ।








Add Comment