बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासी आन्दोलित भएका छन्। बुधबार स्थानीयवासीले पथलैया–वीरगन्ज सडकखण्डमा प्रदर्शन गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।
प्रदर्शनका क्रममा स्थानीयले सडकमा टायर बालेर केही समय यातायातसमेत अवरुद्ध गरेका थिए। बालिकामाथि भएको जघन्य घटनाप्रति आक्रोश व्यक्त गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन्।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गरेर कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। स्थानीयको प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्डमा सवारी आवागमन प्रभावित भएको थियो। बालिकाको न्यायका लागि गरिएको प्रदर्शनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
फोटो: खण्डानन्द प्रसाद उपाध्याय










Add Comment