दाङ । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भालुवाङ–प्युठान पक्की सडकखण्डमा भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार ईभी गाडी प्युठानको स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएका थिए। स्कुटर भने अर्घाखाँचीको सितगंगा नगरपालिका–८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएका थिए।
दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थानकी ३२ वर्षीया सम्झना केसी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएको थियो।
तर, अस्पतालमा उपचारका क्रममा चिकित्सकले केसीलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक अभिषेक कुमाल घाइते भएका छन्। उनको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
दुर्घटनापछि प्रहरीले ईभी गाडी, स्कुटर तथा ईभी चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment