विविध

पाँचबुँदे सहमतिसँगै गरिमा चौधरी मृत्यु प्रकरणमा जारी आन्दोलन स्थगित

बारा । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणलाई लिएर केही दिनदेखि जारी आन्दोलन पाँचबुँदे सहमतिसँगै स्थगित गरिएको छ। पीडित परिवार, स्थानीयवासी तथा सम्बन्धित पक्षबीच बिहीबार राति भएको छलफलबाट पाँचबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो।

घटनापछि स्थानीयवासीले निष्पक्ष अनुसन्धान, पीडित परिवारलाई राहत तथा घटनामा संलग्न सबैमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए। आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय सिमरामा समेत स्थानीयवासीले घेराउ तथा प्रदर्शन गरेका थिए।

बिहीबार राति भएको सहमतिअनुसार पीडित परिवारका लागि उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहको समेत सहभागितामा नेपाल सरकारका गृहमन्त्रीसमक्ष सिफारिस तथा आवश्यक पहल गर्ने सहमति भएको छ।

त्यस्तै, घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू अनुसन्धानका क्रममा हिरासतमा रहे पनि अनुसन्धानका क्रममा थप व्यक्ति घटनामा संलग्न रहेको खुलेमा उनीहरूलाई समेत प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ।

सहमतिको अर्को बुँदामा जिल्लामा हाल तथा भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीको विश्लेषण तथा पूर्वावलोकन गरी भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था जिल्ला सुरक्षा समितिमार्फत मिलाउने उल्लेख छ।

यस्तै, इलाका प्रहरी कार्यालय सिमरामा उक्त समयमा कार्यरत रही लापरबाही देखाएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने सम्बन्धमा समेत माग पूरा गर्ने प्रतिबद्धता जनाइएको छ।

पाँचौँ बुँदामा भने शुक्रबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति भएको छ।

यससँगै गरिमा चौधरी मृत्यु प्रकरणलाई लिएर जारी प्रदर्शन तथा आन्दोलन तत्कालका लागि रोकिएको छ। यद्यपि, स्थानीयवासीले सहमति कार्यान्वयन हुनुपर्ने र घटनाको निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका छन्।

घटनामा पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको छ भने अनुसन्धानका क्रममा थप तथ्य तथा संलग्नता खुलेमा सोहीअनुसार कानुनी प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ।