बारा । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणलाई लिएर भइरहेको आन्दोलनमा पाँचबुँदे सहमति भए पनि नयाँ मोड आएको छ। बिहान सम्बन्धित पक्षबीच पाँचबुँदे सहमति भएपछि आन्दोलन स्थगित हुने अपेक्षा गरिएको थियो। तर, स्थानीयवासीले सहमतिपछि पनि थप कडा माग अघि सारेका छन्।
स्थानीयवासीले घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन्। उनीहरूले दोषीलाई फाँसीको सजाय नभएसम्म आन्दोलनबाट पछि नहट्ने चेतावनी दिएका छन्।
आन्दोलनमा सहभागी स्थानीयको भनाइ छ, “दोषीलाई फाँसी नभएसम्म हामी यो आन्दोलन छोड्दैनौँ।” उनीहरूले बालिकाको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी घटनाको सम्पूर्ण सत्य बाहिर ल्याउनुपर्ने माग गरेका छन्।
यसअघि घटनालाई लिएर स्थानीयवासीले इलाका प्रहरी चौकी घेराउ गर्दै प्रदर्शन गरेका थिए। बालिका हराएको सूचना समयमै प्रहरीलाई दिइए पनि तीन दिनपछि मात्रै घरनजिकैबाट शव फेला परेको भन्दै स्थानीयले प्रहरीको खोजतलास तथा अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठाउँदै आएका छन्।
पाँचबुँदे सहमति भए पनि स्थानीयको मुख्य माग दोषीमाथि कडा कारबाही र न्याय सुनिश्चित हुनुपर्ने रहेको छ। सहमति कार्यान्वयन तथा घटनामा संलग्न आरोपितमाथि हुने कानुनी कारबाहीबारे स्थानीयले निरन्तर निगरानी गरिरहेका छन्।
आन्दोलनकारीले आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। घटनाबारे प्रहरी तथा सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ।








Add Comment